५११ नेपालीले ज्यान जोगाउन युद्धग्रस्त युक्रेन छाडे

काठमाडौं । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् ।

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् । युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् ।

तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ । युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौं पैदल हिंडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् ।

युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाए । समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताए । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like