१८५ नेपालीले छाडे युक्रेन, बाँकीलाई यी चार देशको सीमा क्षेत्रमा जान पुनः आग्रह

किभ । युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा जान सरकारले पुनः आग्रह गरेको छ । राजधानी किएभमा कर्फ्यु खुकुलो भएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियाको सीमा क्षेत्रमा जान पुनः आग्रह गरेको हो ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित ठाउँमा आउन यो उपयुक्त मौका रहेको पनि नेपाली दूतावासले विज्ञप्ति निकालेर जनाएको छ । केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न साथै गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँग फोन सम्पर्क गर्न टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

युक्रेनमा रहेका २५८ नेपाली सम्पर्कमा रहेका र हिजो बेलुकासम्म १८५ जना चार वटा युरोपेली देश प्रवेश गरेका दूतावासले जनाएको छ । अरु ७३ जना सम्पर्कमै रहेको युक्रेनका लागि गैरआवासीय नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए । नेपाल सरकारले बोर्डरसम्म आउन सुझाव दिएको भए पनि त्यहाँ आइपुग्न निकै जटिल रहेको केही नेपालीहरुले गुनासो गर्दै आएका छन् ।

तर जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले स्थानीयस्तरमा जारी सूचनालाई आधार बनाएर यात्रा गर्न सुझाव दिएका छन् । ‘युक्रेनको राजधानी किएभ र खार्किभमा स्थानीयस्तरमा लगाइएको कर्फ्युको कारणले ठ्याकै आफैंले चाहेको बेला निस्कन कठिन देखिएको हो,’ राजदूत खड्काले भने, ‘सुरक्षाको दृष्टिकोणबाट एड्भाइजरी अनुसार नै ट्रेनहरु प्रयोग गर्नुपर्छ ।’

उनले दूतावासबाट हालसम्म ३८ वटा ट्राभल डकुमेन्ट जारी गरेर युक्रेनबाट नेपालीहरुलाई उद्धार गरिएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता सुरक्षित ठाउँमा पुर्‍याउने हो । लगभग त्यो काम सफल भएको भन्ने मलाई लागेको छ,’ राजदूत खड्काले भने, ‘अब एनआरएनसँग सहकार्य गर्दै इच्छुकलाई घर फर्काउने तयारी पनि गर्नेछौं ।’
हेर्नुस् विज्ञप्ति

 
 
  
 

You may also like