जीटूजीमार्फत् मल ल्याउन नेपाल-भारतबीच हस्ताक्षर, यो वर्ष एक लाख ५० हजार टन ल्याइने

by समतल अनलाइन

काठमाडौं । युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जीटूजी व्यस्थामार्फत् भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पाँच वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष एक लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीका कायममुकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज (सोमबार) भर्चुअलरुपमा आयोजित कार्यक्रममा भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको पनि उपस्थित रहेको थियो । भारतीय पक्षबाट बोल्दै मन्त्रालयका सचिव चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे ।

दुई पक्षबीच भएको समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यो समझदारी पत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुंगाको रुपमा रहको र यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्ने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 
 
  
 

You may also like