काठमाडौंमा दूधको गाडी र बसमा तोडफोड, बन्द गराउँदै हिंडेका ६ जना पक्राउ

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले बन्दको आह्वान गरेका छन् ।

आज (सोमबार) बन्द गराउँदै हिंडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

काठमाडौं उपत्यकामा आज हिजोअस्तीको तुलनामा कम गाडी चलेका छन् । बिहान केहीबेर निकै कम गाडी चले पनि अहिले भने गाडीको संख्या बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकासहित राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले यातायात व्यवसायीलाई ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । चोक-चोकमा प्रहरी खटिएका छन् भने प्रहरीको गाडीले स्कर्टिङ समेत गरिरहेको छ । पछिल्ला दिनहरुमा बन्द आह्वान हुँदा नागरिकले स्वतःस्फूर्त रुपमा त्यसको अवज्ञा गर्दै आएका छन् ।

 
 
  
 

You may also like