एमसीसीमा सत्ता गठबन्धनबीच सहमति, आजै संसदबाट अनुमोदन गरिने

by समतल अनलाइन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच एमसीसी अनुमोदन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटरमा आइतबार बिहान बसेको बैठकमा सत्ता गठबन्धनमा एमसीसी अनुमोदन गर्ने विषयमा औपचारिक निणर्य भएको हो ।

संसद्बाट ‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न’ सत्ता गठबन्धनमा रहेका दलबीच सहमति जुटेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ कृष्णप्रसाद सिटौला‚ महामन्त्री गगनकुमार थापा‚ उपसभापति पूणर्बहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका हुन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न सहमत भएका हुन् ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गठबन्धन दलबीच औपचारिक समझदारी बनेमा प्रस्ताव आइतबारकै बैठकबाट पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै, नसके सोमबार अनुमोदन गराउने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

 
 
  
 

You may also like