नेपालका बाघ भारततिर बसाइँ सर्न थाले

by समतल अनलाइन

चितवन । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको संख्या बढाएर मात्र हुँदैन । संख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन-जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैंडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औंल्याएका छन् ।

प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिने बताउँछन् । ‘पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको संख्या बढ्दा चितवन निकुञ्जमा भने घटेको थियो । यसको प्रमुख कारण नै यहाँका बाघ बसाइँ सरेर अन्यत्रै गइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन’, उनले भने ।

सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता, सन् २००८ सम्म एउटा मात्रै बाघ भएको वाल्मीकिमा भने बाघको संख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ । प्रमुख डा. लामिछानेका अनुसार वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा भेटिएका थिए । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like