ओमसतियामा एक हप्ते मञ्च उद्घोषण तालिम

by समतल अनलाइन

बुटवल। रुपन्देहीको ओमसतियामा मञ्च उद्घोषण तालिम सुरु भएको छ ।ओमसतिया गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ ओमसतिया समन्वय परिषदको आयोजनामा ओमसतिया-२ पडसरी स्थित थारु कल्याणकारिणीको सभाहालमा ७ दिने उद्घोष तालिम सुरु भएको हो ।

शुक्रबारदेखि सुरु भएको तालिमको उदघाटन गर्दै प्रमुख ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले आफ्नो गाउँ समाजमा देखिएका समस्याको खबरदारी गर्न यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले एक हप्ते तालिमपश्चात सहभागीहरु सामाजमा रहेका विकृति, विसंगति र समस्याहरुको विरुद्धमा आवाज उठाउने तथा नेतृत्व लिन सक्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि ओमसतिया-२ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठले अहिलेको समय सृजनात्मक समय भएको बताउँदै नेतृत्व विकास र बोल्ने कलाले मानिसलाई समाजमा छुट्टै पहिचान दिने बताउनुभयो । उहाँले बोल्ने मात्रै नभएर प्रभावकारी तरिकाले बोल्नु अहिलेको आवश्यकता भएको जिकिर गर्दै तालिमबाट सहभागीहरुले धेरै कुरा सिक्ने बताउनुभयो ।

आदिवासी जनजाति महासंघ ओमसतिया गाउँपालिका समन्वय समितिका सभापति सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निलम चौधरीले गर्नुभएको थियो भने रिख बहादुर रानाको स्वागत मन्तव्य रहेको थियो । गाउँपालिकाभरका ४० जनाको सहभागिता रहेको तालिमको सहजीकरण क्यारियर मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा बुद्ध टेलिभिजनका राज चौधरीले गर्नुभएको हो ।

 

 
 
  
 

You may also like