ग्लोबल संचारगृहद्वारा दोश्रो टेन स्टिल्स मिडियाकप फुटसल-२०७८’ को आयोजना हुने

by समतल अनलाइन

बुटवल । रुपन्देहीका सञ्चारगृह तथा सञ्चारकर्मीहरु बीच दोस्रो टेन स्टिल्स मिडियाकप फुटसल-२०७८’ को आयोजना हुने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा यही फागुन २० गते तिलोत्तमा भलवारीको सनराइज फुटसल एरिनामा प्रतियोगिता आयोजना हुने भएको हो ।

कोभिड संक्रमणका कारण संकटमा परेका सञ्चारगृह र सञ्चारकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाई भातृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा रुपन्देहीका एक दर्जन बढी सञ्चारगृहहरुको सहभागिता रहने भएको छ । रुपन्देहीको तिलोत्तमामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।

प्रतियोगिताले सञ्चारकर्मी र सञ्चारगृहहरु बीच भातृत्व बिकास गर्नुका साथै थप नयाँ उर्जा प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको ग्लोबल सञ्चारगृहका प्रवन्धक तथा ग्लोबल आवाज डटकमका प्रवन्ध सम्पादक गौतम भुसालले बताए । गत वर्षदेखि आयोजना गरिएको प्रतियोगिताबाट प्राप्त सुझाब तथा प्रतिक्रियाहरुलाई मध्यनजर गरी वार्षिक रुपमा नियमित सञ्चालन गर्नेगरी दोस्रो पटक पनि फुटसल प्रतियोगिता आयोजना गरिएको सम्पादक एन.बी. कंडेलले बताए ।

टेन स्टिल्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताका लागि हाइलाईफ फुड्स सहप्रायोजक, साइन रेसुङ्गा डेभलप्टमेन्ट बैंक लिमिटेड बैंकिङ पाट्नरका रुपमा रहेको कार्यक्रम संयोजक डि.बी सुस्लिङले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार नगदसहित ट्रफि, कप, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।

यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले ३ हजार ५ सय नगद राशीसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुस्लिङले जानकारी दिए । विधागत तर्फका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही २५०० नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मानित हुने छन् । ४ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगितामा महिला पत्रकारहरु बीच पनि मैत्रीपूर्ण खेल आयोजना हुने जनाइएको छ ।

प्रतियोगिताका लागि फागुन १५ गतेसम्म नाम दर्ताको मागसहित सबै सञ्चारगृहरुलाई पत्रचार भइसकेको तथा फागुन १७ गते टाई सिट सार्वजनिक गरिने आयोजकले जनाएको छ । राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने उक्त प्रतियोगिताको अवसरमा बुटवलको साझा अस्पतालले प्रतियोगिता अवधिभर निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्ने भएको छ ।

प्रतियोगिता बारे जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार संस्थाका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रतियोगितालाई जीतको भावनाभन्दा भनि सद्भावको भावना बिकास गर्ने माध्यमका रुपमा लिन आग्रह गरे । यसैरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल तथा राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेशका प्रमुख भरत केसीले कार्यक्रम सफलताको कामना गरे । प्रतियोगितामा जीत हासिल गर्नुलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा पनि आपसी सद्भाव र भाइराचाको रुपमा लिनु पर्नेमा जोड दिए । हाईलाईफ प्रालिका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भावनात्मक एकता कायम गराउनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

गतवर्ष देखि शुरु भएको प्रतियोगिताको पहिलो संस्करणको विजेता बुद्ध टेलिभिजन रहेको छ । प्रतियोगितालाई टेन स्टिल्सको मुख्य प्रायोजक, सहप्रायोजक हाईलाईफ, अफिसियल बैक साइन रेसुङ्गा, टेलिभिजन राज्य टिभि र न्युज पेपर बुटवलटुडे दैनिकले गरेको छ ।

 
 
  
 

You may also like