एमसीसी विवादमा बाबुराम भट्टराईको कटाक्ष : बरु भाँचिने तर नझुक्ने रे, वाह !

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले राजनीतिक दलबीच तीव्र विवाद र विभाजन देखिएको छ ।

सत्ता गठबन्धनमै रहेका दलमध्ये नेपाली कांग्रेस मात्रै सम्झौता जस्ताको तस्तै प्रतिनिधि सभाबाट अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा) समेत एमसीसी संशोधन नगरी संसदमा पेस गर्न नहुने पक्षमा उभिएका छन् । राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसीविरुद्ध छ । तर पूर्व प्रधानमन्त्री समेत रहेका जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी तत्काल अनुमोदन गर्नुपर्ने पक्षमा लगातार जोडदार वकालत गरिरहेका छन् ।

एमसीसीका विषयमा छलफल गर्न आज सत्ता गठबन्धनका दलबीच बैठक हुँदैछ । कांग्रेस एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी संसदमा टेबल गर्ने अडानमा छन् भने जबरजस्ती गरिए आफू सरकारबाट आफू बाहिरिने निणर्य नेकपा माओवादी केन्द्रले गरिसकेको छ । यसले गर्दा आजको बैठक गठबन्धनको अन्तिम बैठक हुने अनुमान पनि कतिपयले गरेका छन् ।

आजको गठबन्धन बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी नहुने उनी निकट एक नेताले दाबी गरेका छन् । जसपाले पनि एमसीसीका विषयमा बुधबारदेखि एकाएक आफ्नो धारणा परिवर्तन गरेको हो । तर जसपाकै संघीय परिषद् अध्यक्ष डा. भट्टराई भने एमसीसी अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएका छन् ।

उनले बुधबार राति गरेको ट्वीटले पनि यो कुरा पुष्टि गर्छ । उनले एमसीसीको विरोध गर्ने माओवादी केन्द्रलगायत कम्युनिस्ट पार्टीविरुद्ध कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रा कण (कमरेड) हरू कुनै बेला अप्ठेरो सम्झौता गर्नुपर्दा लेनिनको Brest–Litovsk Treaty (जसमा रूसले जर्मनीलाई आफ्नो भूभाग सुम्पेको थियो), स्टालिनले १९३९ मा हिटलरसँग गरेको सम्झौता, माओले जापानविरोधी युद्धमा चियाङ काइसेकसँग गरेको सम्झौताको निकै दुहाइ दिन्थे । अहिले त बरु भाँचिने तर नझुक्ने रे ! वाह !’

 

 
 
  
 

You may also like