मलेसियाबाट फर्किएर भेडापालन – एकै गोठबाट २० लाख आम्दानी

by समतल अनलाइन

बेनी । दशैँको अवसरमा भेडा र खसी बिक्री गरेर एक किसानले एकै महीनामा २० लाख बढी आम्दानी गरेका छन् । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १ सयको हाराहारीमा भेडा र खसी बिक्री गरेका थिए ।
व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताए । एकैपटक २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनि बताउछन् ।

दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिए ।
गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४ सय बढी भेडा छन् । तिहारलाई लक्षित गरी १ सय को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले ६० लाख लगानीमा भेडापालन शुरु गरेका थिए ।

अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए ।

हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन् । छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् ।

 
 
  
 

You may also like