कपिलवस्तु बाणगंगाका कार्यकारी पन्थीको सुझाबः खबरदारी गर्नू तर ‘पित पत्रकारिता नगर्नु

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरुवा भई आउनु भएका टेकराज पन्थीले नगर विकासमा सक्रियता देखाउनु भएको छ ।

केही दिन अघि प्रमुख राजनैतिक दलका नेताहरुसंग नगर विकासबारे छलफल गर्नु भएका पन्थीले शुक्रबार जिल्ला र नगरका पत्रकार (रेडियो, टिभी, छापा, अनलाइन ) संग अन्तरक्रिया गरी सक्रियता बढाउनु भएको हो ।

नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षतामा भएको छलफलमा नगरबाट प्रदान हुने सेवा प्रबाह, राम्रा र सुधार गर्नु पर्ने कुराहरु, मिडिया हाउसका संचालकसंगको समन्वय र सम्बन्ध विकास लगायतका बारेमा पन्थीले राय लिनु भएको छ ।

पत्रकारहरुको तर्फबाट लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पूर्वअध्यक्ष भेषराज पाण्डे, समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष विकास बञ्जाडे, सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे लगायतले जिल्ला र बाणगंगा नगरपालिकाका मिडियाको अवस्था, विकास, पत्रकारसंग नगरले अहिलेसम्म गरेको समन्वय, समस्या, आगामी योजना, नगरमा चाँडोचाँडो हाकिम सरुवाको कारण ? नगरको राजस्व वृद्धिबारे जानकारी गराउनु भएको थियो ।

पत्रकारका कुरा सुनिसके पछि कार्यकारी प्रमुख पन्थीले छलफलमा उठेका जायज विषयहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । मिडियासंगको समन्वयविना नगरको सवृद्धि र विकास नहुने भन्दै पन्थीले आगामी दिनमा मिडियाकर्मीहरुलाई नगर संगसंगै लिएर जाने बताउनु भयो ।

नगरमा हाकिम सरुवाको सन्दर्भमा पन्थीले यहाँको खोलानालाको ठेक्का पट्टा नै हाकिम सरुवाको कारण रहेको बताउनु भयो । ‘खोलाको कारण आफ्नो छवि विग्रन्छ कि भनेर अहिलेसम्मका हाकिम सरुवा भएको पाएँ, यसमा जनप्रतिनिधिको दोष छैन’ पन्थीले भन्नुभयो त्यस्तो खास कारण नआएमा अब ३ महिना मेरो सरुवा हुन्न । सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसक्यो । चुनाव गराएर नयाँ जनप्रतिनिधि आएपछि अर्को बजेट दिएर बल्ल कहिँ जान परे गइएला ।’

अब आफूले नगरलाई केही नतिजा दिने गरी अघि बढ्ने बताउनु भयो । नगरलाई खबरदारी गर्नुहोस् तर पित पत्रकारिता नगर्नू पन्थीको पत्रकारलाई सुझाव छ । भ्रामक र चर्चा पाउनेभन्दा पनि नगरको विकास नगरबासीको हित हुने खालका विषयमा समाचार लेख्न उहाँको आग्रह छ ।

नगर प्रमुख मंगलप्रसाद थारुले नगरविकासमा कार्य कारी पन्थीले देखाउनु भएको सक्रियताको प्रसंसा गर्दै आफू पनि पत्रकारले राखेका सबालमा सकारात्मक रहेको बताउनु भयो । आफ्नो कार्यकाल अनुभव मै वित्न लागेको भन्दै उहाँले पत्रकारहरुसंग समय समयमा छलफल र अन्तरक्रिया गरिरहनु पर्ने बताउनु भयो । अन्य पत्रकारले पनि बाणगंगा आवरणमा राम्रो देखिए पनि ठोस काम गर्नमा भने चुकेको राय राखेका थिए ।

नगरका प्रशासकीय अधिकृत केशवराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी र करिब २ दर्जन पत्रकारको सहभागिता थियो । नगरले अब जिल्लाका सम्पुर्ण पत्रकारसंग छलफल गर्ने बताइएको छ ।

 
 
  
 

You may also like