चीन र भारतमा घटेसँगै नेपालमा पनि ओमिक्रोनको संक्रमण दर घट्दै : डा. मिश्रा

by समतल अनलाइन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।
मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन् ।

पहिला एक जना मान्छेमा भएको भाइरस तीन जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै कम हुँदै गएको उनको भनाई छ । भारतको आन्ध्र प्रदेश बाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपालमा परेको उनले बताइन् ।
उनले थपिन्, ‘हाम्रो संक्रमण दर इण्डिया र चाइनासँग सधैँ जोडेर हेरेका छौंं हामीले । अनि इण्डियामा पनि आन्ध्र प्रदेश बाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ । तथापि सतर्कता अनिवार्य छ । बढी सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ । स्वास्थ्य मापदण्ड अपनाउने, भीडभाडमा नजाने र खोप लगाउने काम गर्नु पर्‍यो । हाम्रो प्रक्षेपण चाहिँ के छ भने यसको दर घट्दो अवस्थामा छ ।’

नेपालमा कोरोनाविरुद्धको खोप अभाव नभएको मन्त्रालयले बताएको छ । नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ । खोपको अभाव हुन नदिन प्रदेशस्तरमै भण्डार केन्द्रको व्यवस्था भएको मन्त्रालयकी प्रवक्ता मिश्रले जानकारी दिइन् । मन्त्रालयले खोप लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटक-पटक अपिल गर्दै आएको छ ।

 

 
 
  
 

You may also like