आइतबारसम्म असिनासहित वर्षा हुनसक्ने

by समतल अनलाइन

बुधबार रातिदेखि नेपालको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली रहने भएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा वाग्मती , मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । बिहीबार पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाड र तराई केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार भने देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

शनिबार मुलुकका केही स्थानमा हिमपात र वर्षा भए पनि आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामीको तीन दिनको मौसम पूर्वानुमान

बिहीबार सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा वाग्मती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।
शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।

गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याउने दावा

 
 
  
 

You may also like