युक्रेनमा अवकाश प्राप्त वृद्धहरू समेत युद्धको तयारी गर्दै

by समतल अनलाइन

काठमाडौं । युक्रेनी नागरिक दिमित्रो दुवासले आफ्नो युद्ध सकियो भनेर सोचेका थिए । तर अहिले अमेरिकाले रुसले कुनै पनिबेला युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिइरहेको छ । स्वयमसेवक योद्धा दिमित्रोले यो चेतावनीलाई बेवास्ता गर्न सकेका छैनन् । उनले गत साता यस विषयलाई लिएर दिमागै खलबलिएपछि उनी आफू मनोचिकित्सक कहाँसम्म पुगेको बताएका छन् ।

महिनौंदेखि युक्रेनको पश्चिमी गठबन्धनले सीमाना तैनाथ भ्लादिमिर पुटिनको रुसी फौजलाई देखाउँदै तिनीहरू युक्रेनको राजधानी किभतर्फ बढ्नसक्ने बताउँदै आएको छ । यस्तो सम्भावित आक्रमणको प्रत्यक्ष शिकार हुनसक्ने विषयलाई युक्रेनी जनता त्यति पत्याउँदैनन् ।

दिमित्राले समेत रुसले कुनै पनिबेला सीमानामा फौज ल्याएर राख्न र त्यसपछि हमला गर्नसक्ने भएकाले यस घटनालाई नौलो ढंगले लिन मानेका छैनन् । उनले सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी लडाकुहरूविरुद्ध लडेका थिए । सन् २०१५ देखि सो क्षेत्रमा युद्धविराम चलेको भएपनि पटकपटक त्यसको उल्लंघन पनि हुँदै आइरहेको छ ।

तर दिमित्रो गैरसैनिक जीवनमा फर्किसकेका छन् । उनले गोलीगठ्ठा राखिने बाकसलाई रंग्याएर आफ्नो लिभिङ रुममा कफी टेबुलको रूपमा सजाइसकेका छन् । तर फेरि युद्धको हल्ला चल्न थालेकाले उनी कारमा इन्धन भर्न जगेडा खाद्यन्न राख्न र प्रतिरक्षा फौजसँग आफ्नो सिपबारे छलफल गर्न व्यस्त हुन थालेका छन् । यद्यपि पश्चिमी गुप्तचर निकायहरूले गर्ने गरेको पुटिनको किभ कब्जा गर्ने योजनाको बेलीविस्तारलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन्त्रास फैलाउने हल्ला मात्रै भन्ने गरेका छन् ।

तर युक्रेनका विद्यालयहरूमा बमको सन्त्रास वा हवाइ हमलाको स्थितिबारे अभ्यास गराउन थालिएको छ । सामाजिक सञ्जालहरूमा ‘आपतकालीन झोला’ बोकेर सकेसम्म पश्चिमतर्फ ज्यान जोगाउँदै कसरी भाग्ने भन्ने औपचारिक मार्गनिर्देशन दिन थालेको छ ।

अवकाशप्राप्त व्यक्तिहरूसमेत किभ छेउका जंगलहरूमा युद्ध अभ्यास तालिममा सरिक भइरहेका छन् । प्रारम्भिक सैनिक तालिम भएकाले नै काठको नक्कली बन्दुक लिएर तालिम लिँदै गरेका ६१ वर्षीय भासिल नाजारोभ भन्छन्, ‘मेरो विचारमा अब रुसीहरूले आक्रमण गर्ने छैनन् । हामीलाई हतियार दिने गठबन्धन फौजलाई धन्यवाद दिन्छु ।’ अर्का ६४ वर्षीय वृद्ध सेर्हिए कालिनिन भन्छन्, ‘पश्चिम जगतको नाकाबन्दी धम्कीका कारण पनि पुटिनले आक्रमण गर्दैनन् । तर शत्रुहरू सीमानामै रहेकाले सबैले तयारी भने गर्नैपर्छ ।’ बीबीसीबाट

 

 
 
  
 

You may also like