काठमाडौं । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा लगातार वकालत गरिरहेका छन् । उनले खासगरी सामाजिक सञ्जालमार्फत निरन्तर एमसीसी संसदबाट अनुमोदन गरिनु पर्ने तर्क गरिरहेका छन् ।
यसै क्रममा सोमबार मध्यराति पनि उनले एमसीसीका पक्षमा जोडदार अभिव्यक्ति दिएका छन् । उनले एमसीसी सम्झौता नेपालका राजनीतिक दल र यसमा मुख्यगरी कम्युनिस्टका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन् । यस क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अमेरिकाको पुँजी अछूत हुने भए चीन, भारत र अन्य देशका चाहिँ के गर्ने भनेर प्रश्न समेत तेर्स्याएका छन् ।
‘एमसीसी नेपालका राजनीतिक दल, मुख्यतः कम्युनिस्ट निम्ति निर्णायक अग्निपरीक्षा बन्दै छ । पहिलो- राष्ट्रियता । भारत, चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ?’, उनले भनेका छन्, ‘दोस्रो- विकास नीति । अमेरिकी अनुदान सहयोग नलिने हो भने डब्ल्यूबी, एडीबी, आईएमएफसँग के गर्ने ? अमेरिकी पुँजी अछूत भए चीन, भारत र अन्यका ?’