काठमाडौं । युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ । रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाको माग अस्वीकार गरेका हुन् ।
युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन् । विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन् । यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउटा लिखित सूची नै जारी गरेको थियो । तीमध्ये युक्रेनमा नेटोको सम्भावित परिचालन रोक्नु पनि छ ।
पछिल्ला सातामा रसियाले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यो तैनाथलाई अमेरिकालगायत उसका साझेदार राष्ट्रहरुले युक्रेनमाथिको सम्भावित अतिक्रमणका रुपमा लिएका छन् । यद्यपी, रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ । युक्रेनलाई नेटोलगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनौट हुने अधिकार भएको अमेरिकाले तर्क गर्दै आएका छन् ।