सिटामोललगायतका अत्यावश्यक औषधि सहजै उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

by समतल अनलाइन

काठमाडौं। सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ। ‘कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र प्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू,’ आदेशमा भनिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा अन्तरिम आदेश माग गरिएकोमा आदेशबारे छलफलका लागि माघ १७ लाई पेसी तोकेको छ।

 
 
  
 

You may also like