अस्पतालमा बढ्न थाले संक्रमित

by समतल अनलाइन

काठमाडौं । एक सातादेखि तीव्र गतिमा वृद्धि हुँदै गएको कोरोना संक्रमणसँगै उपत्यकाका मुख्य कोभिड अस्पतालमा बिरामी भर्नादर वृद्धि हुँदै गएको छ । एक साताअघिसम्म १३ जना कोरोना संक्रमित रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार ३८ जना पुगेका छन् । तीमध्येमा नौजना गत २४ घण्टामा भर्ना भएका हुन् । २७ जना जनरल वार्ड र ११ जना आइसियुमा रहेको अस्पतालका कोभिड १९ संयोजक डा. निरज बमले बताए ।

संक्रमित बढ्न थालेपछि अस्पतालले ननकोभिड वार्डलाई कोभिडमा विस्तार गर्न सुरु गरेको डा. बमले बताए । १८ वटा आइसियु बेड र जनरल वार्डका २० बेड कोभिड बिरामीका लागि भनेर छुट्याएका थियौं । अब ननकोभिड वार्डलाई पनि कोभिड बनाउनुपर्ने भयो’, उनले भने । यस्तै युनिफाइड कोभिड अस्पताल वीरमा बिहीबारसम्म भर्ना भएका संक्रमितको संख्या ४६ पुगेको छ । ‘दस दिनअघिसम्म वीरमा कोभिडका बिरामी ८ जना मात्र थिए, अहिले बढिरहेका छन्’, अस्पतालका संयोजक डा. प्रज्वल श्रेष्ठले भने ।

भर्ना भएका बिरामीमध्येमा ८ जनाको आइसियु, ४ जनाको भेन्टिलेटर र ५ जना हाइडिपेन्डेन्सी युनिटमा उपचार भइरहेको छ । कोरोना संक्रमण भएर भर्ना भएकामध्ये धेरैजसो क्यान्सर, मिर्गौला, दम तथा मधुमेहका बिरामी छन् । भर्ना भएका बिरामी ३० वर्षमाथिका छन्। तीमध्ये केहीले खोप नलिएका र केहीले खोप लिएको डा. श्रेष्ठले बताए । भर्ना भएकामा कोरोनाको दोस्रो लहरमा जस्तो सिकिस्त हुने दर भने कम रहेको उनको भनाइ छ । वीरमा भर्ना भएका मध्ये १३ जना एउटा पनि खोप नलिएका, २५ जना पूरा मात्रा खोप लिएर ६ महिना पुगिसकेका बिरामी छन् ।

गम्भीर दीर्घरोगी र वृद्धवृद्धा सिकिस्त भएको डा. श्रेष्ठले बताए । ‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ’, उनले भने । श्रेष्ठका अनुसार दोस्रो लहरमा प्रतिदिन २ सय जना संक्रमित भएमा २० देखि ३० जना अक्सिजन चाहिनेगरी भर्ना हुन्थे । तीमध्ये ५० प्रतिशतलाई आइसियु चाहिने अवस्था रहन्थ्यो । शुक्रराज सरुवा रोग अस्पतालकी निर्देशक डा.मनिषा रावलले पनि संक्रमित संख्याको अनुपातमा भर्नादर यो पालि कम रहेको बताइन् । उनको अनुसार उक्त अस्पतालमा बिहीबारसम्ममा १२ जना कोभिड १९ का बिरामी भर्ना भएका छन् ।

टिचिङको मेडिकल आइसियु बन्द

मेडिकल आइसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमणसँगै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएपछि बिहीबारदेखि टिचिङ अस्पतालको मेडिकल आइसियु अनिश्चित कालका लागि बन्द भएको छ ।

अस्पतालका निर्देशक डा.दिनेश काफ्लेका अनुसार ८ बेड क्षमता रहेको सो आइसियुका सबै बिरामीमा कोभिड पुष्टि भएपछि उनीहरूलाई कोभिड आइसियुमा सारिएको छ । कन्ट्याक्ट टे्रसिङ गर्दा त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीसहित ६० जना बिरामी संक्रमित भेटिएका छन् ।

संक्रमित हुनेमा चालक तथा अन्य कर्मचारी पनि परेका छन्। अन्य वार्डका समेत स्वास्थ्यकर्मी संक्रमित भएपछि जनशक्ति व्यवस्थापनमा कठिनाइ हुने निर्देशक काफ्लेले बताए । ‘एकैपटक ६० जना संक्रमित हुँदा स्टाफको ड्युटी मिलाउन गाह्रो हुन्छ, बिरामीलाई सेवा राम्रो दिन सक्दैनन्’ उनले भने ।

कोरोना संक्रमणदर २३.५ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २३.५ प्रतिशत छ । सो अवधिमा परीक्षण भएका १५ हजार ८१ नमुनामध्ये ३ हजार ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबारको संक्रमणदर अघिल्लो दिनकै हाराहारी रहेको छ । हाल नेपालमा १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १ सय १० जनाको आइसियुमा, २५ जनाको भेन्टिलेटरमा र ८ सय ३७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । १३ हजार ५ सय ३ जना होम आइसोलेसनमा छन् । गत २४ घण्टामा थप एकजनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा ११ हजार ६ सय १० जना संक्रमितको मृत्यु भइसकेको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like