डब्ल्यूएचओले भन्यो : खोप नलगाउनेका लागि ओमिक्रोन खतरनाक

by समतल अनलाइन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिका लागि खतरनाक भाइरस भएको बताएको छ ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले खोप नलगाएका व्यक्तिका लागि ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ भएको बताएका हुन् ।

‘ओमिक्रोनबाट गम्भीर बिरामी हुने अवस्था डेल्टाको भन्दा कम छ तर विशेषगरी खोप नलगाएकाहरूका लागि भने यो खतरनक भाइरस हो’, उनले पत्रकार सम्मेलनमा भने ।

गेब्रेयससले ओमिक्रोनबाट संक्रमित हुने दर तीव्र रुपमा बढिरहेको र सबैतिर फैलिइरहेका कारण सतर्क रहन समेत आग्रह गरेका छन् । संक्रमण बढ्नु भनेको अस्पतालमा जाने र मृत्यु हुनेको संख्या बढ्नु रहेको पनि उनको भनाइ थियो ।

डब्ल्यूएचओका अनुसार गत हप्ता मात्रै कोरोना भाइरसबाट विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । जुन यसअघि साप्ताहिक रुपमा पुष्टि भएका संक्रमितभन्दा निकै धेरै हो । निकै संक्रामक ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या बढेको छ ।

शुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट जनवरी ६ गतेसम्म १४९ वटा मुलुकमा फैलिइसकेको छ । भेरियन्ट अमेरिका र युरोपमा सक्रिय भेरियन्टको रुपमा देखा परिसकेको छ । त्यस्तै, दक्षिण एसियामा समेत यसका संक्रमित बढ्न थालेका छन् ।

 

 
 
  
 

You may also like