गौतमबुद्ध क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदन : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

by समतल अनलाइन

चितवन ।भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ ।

रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।

महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न शघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो ।

प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रंगशाला निर्माणमा हालसम्म ५१ करोडबढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

महानगरले प्रारम्भिक प्रतिवेदन पेश गरेपनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रुप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘फाइनल मूल्यांकन मन्त्रालयले पनि गर्न सक्छ । हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार चाँहि भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयरसापले मन्त्रालयमा लगेर पेस गरेका छन् ।’

महानगरले बुझाएको प्रतिवेदनमा मन्त्रालयको चित्त नबुझे मन्त्रालय आफैले पनि मूल्याकंन गर्न सक्ने उनको भनाइ छ । सघन शहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

 
 
  
 

You may also like