हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता

by समतल अनलाइन

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार व्यवसायी संघ रुपन्देही र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच क्यू आर प्रयोग सम्बन्धी सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखहरुको रोहबरमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जि.सीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकले करिब २ सय ५० जना व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपािलकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यले क्यूआर प्रविधिबाट आर्थिक कारोबार गर्दा झन्झटरहित र सुरक्षित हुने बताए । बैंकिङ कारोबारमा आधुनिक प्रविधिको प्रयोगले नगरलाई डिजिटलाइज र स्मार्ट बनाउन टेवा पुग्ने उनीहरुले बताए ।
सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले क्यूआरबाट गरिने कारोबारलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन बैंकले व्यवसायीलाई जनचेतना र प्रशिक्षण दिने बताए ।
हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जीसीले अन्य बैंकले पनि क्यूआर प्रयोगा सहकार्यको प्रस्ताव गरेको भएपनि लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो र राष्ट्रियस्तरको बैंक भएकाले शाइन रेसुंगा रोजेको भन्दै यसबाट व्यवसाय प्रवद्र्धनमा सहज हुने बताए ।
कार्यक्रममा हाटबजारमा इन्टरनेट सेवा उपलब्ध गराएको वल्र्डलिंकका सेलस एक्जुकेटिभ विनय चौधरी,फोन पेका ब्राण्ड मेनेजर प्रफुल्ल रिजाल,व्यवसायी कृष्ण पौडेल लगायतले अहिलेको युग डिजिटल बैंकिङको भएकाले साना ठूला सबै व्यवसायी यसमा आवद्ध हुनुपर्ने बताए ।
बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैंकिङ हेड नम्रता थापाले नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानका रुपमा सञ्चालन गरिरहेको बताउंदै पछिल्लो दुई महिनामा २७ वटा स्कूल कलेजसहित करिब ५ हजार जनामा डिजिटल बैंकिङ बारे जानकारी गराइएको बताइन् । हालसम्म बैंकले १५ हजार क्यू आर वितरण गरेको र रुपन्देहीका सबै हाटबजारमा क्यू आर वितरण गर्ने लक्ष्य रहेको बताइन् ।

 
 
  
 

You may also like