राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज (शुक्रबार) मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निणर्य गर्ने निर्वाचन कार्यतालिका छ । आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ ।

पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । निर्वाचन माघ १२ गते हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

 
 
  
 

You may also like