व्यक्तिगत घटना दर्तामा झमेला भएको गुनासो

by समतल अनलाइन

बुटवल । तथ्य र प्रमाण नपुग्दा व्यक्तिगत घटना दर्तामा झमेला भएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागले बुधबार बुटवलमा आयोजना गरेको सार्वजनीक सुनुवाइमा वक्ताहरुले यही कारण समयमा सबै व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता हुन नसकेकोे बताए ।
कानुनमा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गराउनुपर्ने व्यवस्था छ । तर, झमेला हुनेभन्दै धेरै नागरिकले यसको बेवास्था गरेका छन् ।

राष्ट्रिय अपांग महासंघकी सावित्रा घिमिरेले कतिपयमा वडा कार्यालयले खोजेका प्रमाण पुर्याउन नसक्ने र अस्थायी वसोवासी भएका कारण व्यक्तिगत दर्तामा समस्या भएको बताइन् । आन्तरीक बसाइसराइ, बाबुको उपस्थिति लगायतका कुरा देखाएर व्यक्तिगत घटना दर्तालाई जटिल बनाइको उनको भनाइ थियो । कतिपय सेवाग्राहीहरुले अभिभावकको असावधानी र राज्यको गैर जिम्मेवारीपनले कतिपय बालबालिकाको जन्मदर्ता नभएको बताए । लुम्बिनी प्रदेशका कानुन महिला तथा बालबालिका मन्त्री रमा घर्तीले जन्मदर्ता नहुदा नागरिकता, राहदानी, नाबालक परिचयपत्र, पठनपाठनदेखि राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्नबाट बन्चीत हुने भएकाले यसमा संवेदनशील बन्न आग्रह गरिन् । राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन वडामार्फत सेवा दिने र अनलाइन प्रविधि अपनाइएको बताए ।

उनले कतिपय व्यवहारिक कठिनाइलाई स्थानीय तहले व्यवहारिक रुपमै समाधान गर्न पनि आग्रह गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बसाइँसराइ गरेका मानिसले कानुनमा स्थायी थातथलो छोड्न नमान्ने, व्यावहारिक रूपमा अन्यत्रै बस्नेमा समस्या भएपनि सहज बाटो खोज्ने बताए ।

बुटवल उपमहानगरपालिका उप प्रमुख गुमादेवी आचार्यले व्यक्तिगत घटना दर्तामा भएको समस्याले नागरिकता प्राप्तिलाई जटिलता बनाउने भएकाले यसमा सरलीकृत बनाउन आग्रह गरिन् । घटना दर्ताको प्रमाणपत्र वडा सचिवले प्रमाणीकरण गर्छन् ।
राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागले बुधबार बुटवलमा आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरु ।

 
 
  
 

You may also like