पोर्चुगल पठाई दिने भन्दै ४० लाख रुपैयाँ ठगेको आरोपमा दुई जना पक्राउ

by समतल अनलाइन

काठमाडौं । पोर्चुगल पठाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग गरी ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ठगीमा संलग्न रहेको आरोपमा अमृत सोती मगर र समिर कार्कीलाई पक्राउ गरिएको हो ।

महाशाखाका सूचना अधिकृतसमेत रहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेकामध्ये मगर बागलुङ जिल्लाको गल्कोट नगरपालिका-६ घर भई हाल काठमाडौंको मैतीदेवीमा बस्दै आएका थिए भने कार्की सर्लाही जिल्लाको बागमती नगरपालिका-१ घर भई हाल ललितपुरको हरिसिद्धिमा बस्दै आएका थिए ।

उनीहरुले काठमाडौंको कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गरी प्रतिव्यक्ति १४ लाख रुपैयाँमा पोर्चुगल पठाउने भन्दै चार जनाबाट प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ४० लाख लिएको प्रहरीको भनाइ छ ।

पोर्चुगल पुगेपछि राम्रो होटल तथा कम्पनीमा काम पाइने र मासिक एक लाखभन्दा बढी कमाई हुने भन्दै उनीहरुले बुटवल उपमहानगरपालिका-१९ बस्ने लक्ष्मण थापासमेत चार जनासँग १०-१० लाख रुपैयाँका दरले रकम लिइ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like