सिरिञ्ज अभावले काठमाडौंसहित आठ जिल्लामा फाइजर खोप अभियान स्थगित

by समतल अनलाइन

काठमाडौं । सिरिञ्ज अभावका कारण काठमाडौं उपत्यकासहित आठ जिल्लाका बालबालिकालाई भोलि (मंगलबार) देखि लगाइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।

खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ । खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिञ्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान शुरु हुनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले भोलिदेखि २२ गतेसम्म आठ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने जनाएको थियो ।

यसअघि ५७ जिल्लामा शुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि शुरु भएको खोप अभियान पर्सी १४ गतेसम्म चल्ने छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो ।

यी जिल्लामा पनि बालबालिकालाई विद्यालयबाटै खोप दिने सरकारले जनाएको छ । मोडर्ना र फाइजर दुवै खोप बालबालिकाका लागि प्रभावकारी भएको र खोप उपलब्धताको आधारमा ५७ र २० जिल्ला छुट्याइएको सरकारको भनाइ छ ।

 
 
  
 

You may also like