अभिरुची साकोसको ११ औं साधरण सभा सम्पन्न

by समतल अनलाइन

भैरहवा । अभिरुची बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधरण सभा सम्पन्न भएको छ । शनिबार संस्थाले बाउन्नकोटी सामूदायिक बन चिल्हियामा विभिन्न १० वटा प्रस्तावहरु पारित गर्दै साधारण सभा गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले बचत तथा ऋण लगानीमा केन्द्रित नभई सहकारीले उत्पादनशील क्षेत्रमा दीर्घकालिन योजना बनाएर जानु पर्ने बताए । सहकारीलाई उत्पादन पुजँीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने भएकोले बहुबर्षिय कार्ययोजना बनाएर लगानी गर्न आग्रह गरे । संस्थाको चौतर्फी बिकासका लागि सहकारीले केवल मुनाफा हैन सेवामुलक कार्यक्रममा समेत जोड दिनुपर्ने अध्यक्ष न्यौपानेले बताए ।
विशिष्ट अतिथी लेखाविद लक्षमण पौडेलले सहकारीले सम्पुर्ण शेयर सदस्यको जिवन यापनमा सहजता ल्याउने भएकोले सहकारीको विकासका लागि समपुर्ण शेयर सदस्य सक्रिय भएर लाग्न आवश्यक रहेको बताए । सहकारीहरु सँख्यात्मकभन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने, सहकारीबाट ठूलो आमुल परिवर्तन हुने सम्भावना रहेकोले समृद्धीका लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताए ।
११ वर्ष अधि स्थापित संस्थाले सहकारीले शिक्षा सहुलियत कर्जा, चाडपर्व बचत, आल्पकालिन कर्जा, लघु महिला उद्यमी कर्जा, बाल बचत, शेयर सदस्यको स्वास्थय तथा दुर्घटना विमा, सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ ।
संस्थाका अध्यक्ष जीवनप्रकाश पाण्डेले संस्थाको वर्ष भरिको गतिविधी सहितको बार्षिक प्रतिवेदन , लेखा तथा सुपरिवेक्षण समिति संयोजक मोहम्मद सलिमले आ.व.को लेखा परीक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६७ सालमा ४४ जनाबाट स्थापना भएको संस्थामा हाल १४२ जना महिला सहित २ सय ५० सदस्य रहेका छन । संस्थाको कुल शेयर पूजीँ २ करोड ३८ लाख रहेको छ भने सस्ंथाले २२ लाख ८९ हजार शुद्ध बचत गरेको अध्यक्ष पाण्डेले बताए ।
संस्थाले यस वर्ष मात्रै २ करोड ३७ लाख १७ हजार ५ सय १४ ऋण लगानी गरेको छ । त्यस्तै कोरोना माहमारीलाई मध्यनजर गर्दै ऋणीहरुलाई ४ लाख बढि व्याजमा छुट दिएको छ । सस्थाको सचिव उमेश भट्टराईको संचालन, अध्यक्ष पाण्डेको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like