१७ औ विश्वविद्यालय दिवसमा बुटवल—लुम्बिनी साइक्लिङ

by समतल अनलाइन

बुटवल । १७ औ विश्वविद्यालय दिवसको अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विविध कार्यक्रम गरि मनाएको छ । विहिबार दिवसमा विश्वविद्यालयको आयोजनामा रुपन्देहीका साईक्लिष्टहरुको सहभागितामा नयागाउस्थित विश्वविद्यालयबाट लुम्बिनीसम्म साईकल रयाली गरिएको छ । ‘शान्ति र शिक्षाका लागि साईकल यात्रा’ नाम दिईएको यात्राको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले युवा राईडरलाई नेपालको झण्डा दिएर शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै रजिष्ट्रार आचार्यले सहरी जिवनशैलीसंगै साईकल चलाउनुपर्छ भन्ने भावना मानिसहरुमा विकास भएको भन्दै स्वस्थ्य शरीर आजको आवश्यकता भएको बताए । यो वर्ष दिवस मनाउने क्रममा नै फरक र नया ढंगको साईकल यात्रा कार्यक्रम राखेर सन्देश दिन चाहेको उनले बताए । यात्रामा बुटवल युनाईटेड साईक्लिङ क्लबको संयोजन, ह्याप्पी साईक्लिङ क्लब, बुटवल साईकल ग्रुप, तिनाउ साईक्लिङ क्लब, नवलपरासी साईकल एशोसियसन, साईकल साथी सैनामैनाको सहकार्य रहेको थियो । कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले खेलकुदको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको साईक्लिङको विकासमा सरकारको ध्यान दिनुपर्ने बताए । केवल मनोरन्जनमात्र नभई दैनिक जिवनमा साईकलको प्रयोगलाई प्रोत्साहन गर्ने खालको सरकारले योजना ल्याउनसके यसबाट मानव स्वस्थ्यसंगै पर्यावरणमा समेत फाईदा मिल्ने बताए ।
बुटवल नयागाउबाट शुरु भएको रयाली बुटवल बजार परिक्रमा गरि राजमार्ग चौराहा, मणिग्राम, भैरहवा बुद्धचोकमा पुगेर दिप प्रज्वलन गरि बुद्धजन्मस्थल लुम्बिनीस्थित बौद्ध विश्वविद्यालय पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरुले राईडरहरुलाई खादा लगाएर स्वागत गरेका थिए । रयालीमा रुपन्देही, नवलपरासीका गरि विभिन्न ६ क्लबका ८० बढी राईडरहरु सहभागी भएका थिए । विश्वविद्यालयका सुचना अधिकृत लक्ष्मण पोखरेलले प्रचारप्रसारको माध्यमका रुपमा साईकल रयाली गरिदा प्रभावकारी हुने भन्दै छोटो समयको तयारीमा कार्यक्रम राम्रो भएको बताए ।

 
 
  
 

You may also like