तिलोत्तमाको एक फर्निचर उद्योगमा आगलागी

by समतल अनलाइन

बुटवल। तिलोत्तमामा रहेको फर्निचर उद्योगमा आगलागी भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १३ पथरडाँडादेखि करिब १ किलोमिटर पश्चिम मडाहामा रहेको कनौजे ट्रेडर्समा आगलागी भएको हो।

तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष गणेश न्यौपानेले सांझ साढे ५ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको बताए। बुटवलका दुईवटा र भैरहवाबाट आएको एउटा गरि तिनवटा दमकलको सहयोगमा शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवाशीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको न्यौपानेले बताए।

तिलोत्तमा नगरपालिकाको आफ्नै दमकल भएपनि विग्रिएको कारण बुटवल र भैरहवाबाट बोलाईएका दमकल आउन ढिलाई हुँदा धेरै क्षति भएको उनले बताए। बस्तिको विचमा रहेको उक्त फर्निचर उद्योगमा लागेको आगो बस्तिमा फैलिन नपाएपनि उद्योग भित्र लागेको आगो भने पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन।

सोफासेट, टेबुल कुर्चि, खाट लगायत काठका सम्पूर्ण फर्निचर निर्माण गरिने उक्त उद्योगमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार उद्योगभित्रका सबै सामग्री जलेर नष्ट भएपनि कतिको क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन। कनौजे ट्रेडर्स नामबाट संचालित उक्त फर्निचर उद्योग कसले संचालन गरेका थिए भन्ने जानकारी नभएको उनले बताए।

 
 
  
 

You may also like