काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।
आज (मंगलबार) वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे। वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए ।
वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरुको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे ।
उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफू रहे पनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए । समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीं रहेको उनले प्रष्ट्याए । आगामी महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनले बताए ।
वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखा परेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताए ।