भरतपुर सबस्टेसन मर्मत सकिएसँगै उद्योगहरुले पाए विद्युत

by समतल अनलाइन

भितवन । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेका १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि आइतबार साँझबाट विद्युत आपूर्ति दिएको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्महरुमध्ये एउटा कात्तिक १३ र अर्को कात्तिक १६ पड्किएको थियो । पड्किएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत आपूर्ति सुरु गरिएको थियो ।

कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीव कुमार सिंहले बताए । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो ।

 
 
  
 

You may also like