हस्ताक्षर भएको भोलिपल्टै सियान शहरका विशेष अधिकारी बुटवलको अवलोकन भ्रमणमा

by समतल अनलाइन

बुटवल । बुटवलसँग भगिनी सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख शहर सिआन सिटीका विशेष अधिकारीको टोलीले सहकार्यलाई उन्नतस्तरमा पु¥याउने प्रतिबद्धता जनाएको छ ।

सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङ्घको नेतृत्वका त्यहाँको रेल्वे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीको विशेष टोली हिज बुटवल आएको हो ।

रेल, संस्कृति एवम पर्यटनका बारेमा जानकार विशेषज्ञ तथा इञ्जिनीयरसहित छ जनाको विशेष टोलीलाई बुटवल उपमहानगरपालिकाले स्वागत गरेको थियो ।

टोलीलाई उपमहानगरपालिकामा स्वागत गर्दै प्रमुख शिवराज सुवेदीले बुद्धबलीको बुटवलको समग्र विकासका लागि आफूहरुले आवधिक र दीर्घकालीन महत्वका योजना बनाएको उल्लेख गरे ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध कायम गर्न पाउँदा समस्त बुटवलवासी नै उत्साहित भएको भन्दै सम्बन्धलाई समृद्धिको सारथीका रुपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदानप्रदान हुने बताए ।

सिआन नगर सरकारका मुख्य नेता तथा विदेश विभाग प्रमुख छ्याङसँगको नेतृत्वमा बुटवल भ्रमणमा आएको चिनियाँ टोलीमा सिआन विश्वविद्यालयका उपकुलपति थाओ होङ, सिआन नगर सरकारका नगर पार्टीको–अर्डिनेशन कमिटी अध्यक्ष टाइपाइफे, सिआन जनसरकारका विदेश विभागका आधिकारिक अनुवादक लुछ्यान तथा सिआनस्थित संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका व्यवस्थापक तथा इञ्जिनीयर चाङ्गपो र सिआन रेल्वे विश्वविद्यालयका उपकुलपति आङसेऊ सहभागी थिए ।

ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सिआन नगरीका बीचमा आइतबार भगिनी सम्बन्ध स्थापना भएको थियो ।

यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । समझदारीपत्र हस्ताक्षर भएको भोलिपल्टै सियान शहरका विशेष अधिकारी बुटवलको अवलोकन भ्रमणमा आएका हुन् ।

उनीहरुले बुटवलको जितगढी सम्पदास्थल, हिलपार्कको अवलोकन गरेका थिए । हिलपार्कमा बुटवलले बुद्धपार्क बनाउने तयारी गरिरहेको छ ।

बुद्धपार्कको अवधारणाका बारेमा बुटवलले उक्त टोलीलाई वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठलगायतका प्राविधिकले चिनियाँ टोलीसमक्ष प्रारम्भिक खाका प्रस्तुत गर्नुभएको थियो ।

 
 
  
 

You may also like