अमेरिकाबाट आज एक लाख डोज फाइजर खोप आउँदै, दीर्घरोगीलाई लगाउने तयारी

by समतल अनलाइन

काठमाडौं। अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको एक लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज (सोमबार) नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो ।

यसअघि अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने जानकारी दिए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई लगाइने सरकारको तयारी छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफमार्फत नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्छ ।

 

 
 
  
 

You may also like