बाढी–पहिरो प्रभावितका लागि ऋण लिएरै भए पनि विशेष प्याकेज ल्याउने छौं : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् ।
आज आइतवार प्रदेश–१ को बाढी, पहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढी, पहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं । साधन, स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौं । बाढी, पहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेछौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो । अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’

प्रधानमन्त्री देउवाले बाढी, पहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा गरेका छन् । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।

 

 
 
  
 

You may also like