बेमौसमी वर्षाले तीन प्रदेशमा मात्र सात अर्ब २२ करोडको धानबालीमा क्षति

by समतल अनलाइन

काठमाडौ । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको र सोबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको हो ।

मन्त्रालयका अनुसार अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश प्रभावित हुन पुगेको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशको ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ भने यसबाट ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको प्रभावित ५५ हजार हेक्टर क्षेत्र मध्ये १८ हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको छ भने यसबाट १ अर्ब ९१ करोड रुपैयाँ नोक्सान पुगेको मन्त्रालयले जनाएको छ । यता, प्रदेश नम्बर १ मा पनि सोही वर्षाले ४९ हजार ९४५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पारेको र सोबाट लगभग ८० करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मुख्य गरी बेमौसमी वर्षाले तराई क्षेत्रको पश्चिम भागको बर्दिया, कपिलवस्तु, बाँके, रुपन्देही, कैलाली र कञ्चनपुर र पूर्वी क्षेत्रको झापा, मोरङ्ग र सुनसरीमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको छ ।

 
 
  
 

You may also like