होक्लाबाडी टप्पुका ८५ परिवार उद्धारको पखाईमा

by समतल अनलाइन

झापा। झापाको गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए ।

बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गा समेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उनको भनाइ छ । नदीले बिजुलीको खम्बा समेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ ।

बस्तीमा आफन्तकामा दसैंको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उनले जानकारी दिए । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पु–याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् ।

‘चारैतिर कनकाइ नदीले घेरा हालेको छ । उद्धार गर्नसक्ने अवस्था छैन’, उनले भने, ‘अब पानी रह्यो बाढी पनि घट्छ होला । भोलि जसरी पनि उनीहरूको उद्धार गर्न पहल गर्नेछौं ।’ अध्यक्ष श्रेष्ठले बस्तीमा विशेष गरी सन्थाल, आदिवासी र बाहुन क्षेत्रीको बसोबास रहेको बताए ।

झापामा सबैभन्दा बढी डुबानमा परेर विस्थापित हुनेमा पनि गौरीगञ्जकै बासिन्दा छन् । वडा नं १ कै धानगाडा, बिर्खेबस्ती, रङ्गियाथान र बालुवाडी र वडा नं २ को भाकुमाडीका गरी करिब २०० परिवार डुबानमा परेका छन् । जसमध्ये ७५ परिवारको भने उद्धार गरेर सामुदायिक वन, स्कूल र रेडक्रसको भवनमा राखिएको छ ।

 
 
  
 

You may also like