मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जाको नेतृत्व गर्ने साविर अली पक्राउ

by समतल अनलाइन

बुटवल । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूहको नाइके भएको आरोमाप एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार राजु आलम भनेर परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ मा बस्ने ४४ वर्षीय साविर अलीलाई पक्राउ गरिएको हो । उनी औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न टोली गठन गर्ने मुख्य व्यक्ति भएको प्रहरीको दाबी छ ।

अलीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । उनलाई बुटवल–११ देवीनगरबाट सोमबार नै पक्राउ गरिए पनि प्रारम्भिक अनुसन्धानपछि मंगलबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । जग्गा कब्जाका लागि अलीकै अध्यक्षतामा भएका छलफल, बैठकका निर्णय पनि बरामद भएको प्रहरीले दाबी गरेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ । रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–१७ र १८ अन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका अतिक्रमणकारी र प्रहरीबीच गत असोज २४ गते झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । प्रहरीसहित ६० जना जति घाइते भएका थिए । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like