लुम्बिनी सरकारले वास्तविक कृषकमैत्री कार्यक्रम ल्याएको छ : कृषिमन्त्री रायमाझी

by समतल अनलाइन

हेफर इन्टरनेश्नललाई सम्मान

बुटवल । लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषिमैत्री बन्दै गएको दाबी गरेकी छन् । उनले आफूले जिम्मेवारी सम्हालेपछि वास्तविक कृषक पहिचान गरी तल्लो तहबाटै काम अगाडि बढाएको बताइन् ।बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्र्तक्रिया गरेको बताउँदै अब कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताइन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममासरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताउँदै हेफर लगाएतका संघ–संस्थाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रको ब्यवसायिकतामा जोड दिने बताइन् । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नको लागि प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दाबी गरिन् । कोरोना संक्रमण पछि विदेशमा भएका युवा स्वदेशमा नै कृषि क्षेत्रमा लगानी गर्न चाहेको उनले बताउँदै सरकारले कृषिमा लगानी गर्ने युवालाई सहयोग गर्नु पर्ने जोड दिइन्।

हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा माशुजन्य उत्पादनको लागि हेफरले कृषकहरुलाई नेपालमा सहयोग गर्दै आएको जानकारी दिए । साक्षात्कार कार्यक्रममा बोल्दै उनले सिमान्तक्रित जनताको आयआर्जन बृद्धि गर्दै अमेरिकि सरकारको सहयोगमा २१ वटा मुलुकमा हेफरले सहयोग गर्दै आएको बताए । किसानको आयआर्जन वृद्धि गर्नको लागि नेपालमा मासु र दुग्ध जन्य उत्पादनमा जोड दिदै तरकारी, फलफूल उत्पादनमा पनि हेफरले लगानी गर्दै आएको बताए ।

बुटवलमा बन्दै गरेको बधशाला निर्माणको लागि २३ करोड सहयोग गरेको लोहनीले बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै लुम्बिनी प्रदेशमा गरिबी निवारणको लागि हेफरले काम गर्ने उनले बताए । त्यस्तै , उनले सबै गैरसरकारी संस्थाहरुलाई एउटै दृष्टिकोणले नहेर्न आग्रह गर्दै संस्थाहरुले गरेका कामका आधारमा मूल्यांकन गर्न समेत आग्रह गरे । हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले नेपालमा ३ लाख परिवार हेफरबाट लाभाविन्त भएको दाबी गरे । हेफरले गरिब तथा निम्न आय भएका मानिसहरुको आयवृद्धिको लागि कृषि क्षेत्रमा प्रोत्साहन गर्दै आएको बताए । रेग्मीले हेफरले आफ्ना कार्यक्रमहरुलाई निरन्तर सुधार र परिमार्जन गर्दै आएको बताए।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले सरकारबाट आउने कृषिका अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको गुनासो पोखे । सरकारबाट आउने अनुदान फर्जि कागज देखाएर नक्कली किसानले पाउने गरेको उनले बताउँदै यसलाई रोक्नको लागि सरकारी निकाय सचेत हुनु पर्नेमा जोड दिए ।

त्यस्तै ,क्लवले हेफर ईन्टरनेश्नल नेपालले लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान पत्रले सम्मानित गरेको छ । रिपोर्टर्स क्लब नेपाल ,लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like