खाद्य कम्पनीले दशैंका लागि २ हजार खसी–बोका ल्याउँदै

by समतल अनलाइन

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो ।

कम्पनीले यस वर्षको दशंैमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दशैंका लागि खसी बोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । दशैंका लागि बिक्री गर्न किसानसँग च्यांग्रा नपाएपछि कम्पनीले यो दशैंमा च्यांग्रा नल्याएर २ हजार खसीबोका मात्र ल्याउने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सूचना अधिकारी सुवेदीले कम्पनीले ८ सय खसीबोकी तुल्सीपुर र १२ सय खसीबोका वीरगन्जबाट ल्याउन लागेको बताइन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यापार कम्पनीले दशैंमा बर्षेनी काठमाडौं उपत्यका खसी बोका र च्यांग्रा ल्याएर बिक्री गर्दै आएको छ । दशैंको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगियून् भन्ने उद्देश्यले कम्पनीले दशैंमा खसी बोका बिक्री विभिन्न जिल्लाबाट ल्याएर बिक्री गर्दै आएको हो । व्यापार कम्पनीले अघिल्लो दशैंमा १ हजार ५ सय १० वटा खसी बोका ल्याएको थियो । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like