फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाटै सन्यास घोषणा

by समतल अनलाइन

काठमाडौं। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाटै सन्यास घोषणा गरेका छन् । उनले एक वर्षपछि हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । दुतेर्ते ७६ वर्ष भइसकेका छन् ।

फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन। संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा उमेदवार बन्ने बताएका थिए । तर अहिले भने राजनीतिबाटै सन्यासको घोषणा गरेपछि धरैले यसलाई अनपेक्षित रुपमा लिएका छन् ।

दुतेर्तेकी छोरी सारा दुतेर्ते कार्पियो पनि राजनीतिमा सक्रिय छिन् । आगामी चुनावमा दुतेर्तेले आफ्नै छोरीलाई राष्ट्रपति पदका लागि अघि सार्न सक्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।

सारा दुतेर्ते कार्पियो यसअघि बुवाकै निर्वाचन क्षेत्रमा पर्ने डाभाओको मेयर बनिसकेकी छन् । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहका नेता मानिन्छन् । आफ्नो आस्थाभन्दा बाहिरका धर्म सम्प्रदायका समुदायलाई लक्षित गर्दै उनले विवादित अभिव्यक्ति दिने गरेका छन् । एजेन्सी

 
 
  
 

You may also like