एक अर्ब प्रयोगकर्ता हुने पहिलो कम्पनी बन्यो टिकटक

by समतल अनलाइन

काठमाडौं । प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हासिल गरेको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक सञ्जाल प्लेटफर्म बनेको छ ।

कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत यसबारे घोषणा गर्दै दुनियाँभरिबाट मासिक एक अर्ब भन्दा बढी ‘एक्टिभ युजर’ अर्थात सक्रिय प्रयोगकर्ता रहेको बताएको छ । गुगल र फेसबुक बाहेकका सामाजिक सञ्जाल प्लेटफर्मले विश्वभरबाट यति ठूलो संख्यामा उपभोक्ता पाउनु एकदम दुलर्भ मानिने गरिएको छ ।

यसअघि फेसबुक, युट्युब अनि फेसबुक कम्पनीकै इन्स्टाग्रामका मात्र एक अर्ब प्रयोगकर्ता रहेका थिए । यता लामो समय अगाडि सेवा सुरु गरेको भएपनि स्न्यापच्याट र ट्वीटर प्रयोगकर्ताको संख्या एक अर्बको कतै नजिक छैन ।

यसरी छोटा भिडियोहरु बनाएर पोस्ट गर्ने यो प्लेटफर्मले कम समयमै अत्याधिक लोकप्रियता कमाएको छ । विशेषगरी कोभिड महामारीका समयमा मानिसहरुले अधिकतम समय मोबाइल लगायत डिभाइसहरुमै बिताउने भएकाले पनि यसको प्रयोग झनै बढेको हो ।
यससँगै टिकटकमा विभिन्न सामग्री पोस्ट गरेर त्यसैको कमाइबाट जीवन चलाउने क्रम पछिल्लो समय बढेको छ । टिकटकमा हिट भएकै कारण कतिले मनोरञ्जन क्षेत्रमा नाम कमाएका छन् भने नेट्फ्लिक्स जस्तो ठूलो प्लेटफर्ममा समेत अवसर पाइरहेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकको व्यापकता अन्त्य गर्न अनेकौं प्रयास गरे पनि यसलाई बन्द गर्न सकेनन् । यता भारतमा चाहिँ यसमाथि पूर्ण प्रतिबन्ध छ भने युरोपेली नियामकहरुले पनि बाल सुरक्षा र डाटा सम्बन्धी यसको नीतिमाथि प्रश्न उठाउँदै आएका छन् ।

तर यी सबै समस्या झेलिरहे पनि टिकटकले आफ्नो लोकप्रियता कायमै राखिरहेको छ । अन्य प्रतिस्पर्धी सामाजिक सञ्जाल प्लेटफर्महहरुले टिकटक समान सेवा : इन्स्टाग्राम रिल्स, युट्युब सर्टस, स्न्यापच्याट स्पटलाइट लगायत ल्याएपनि टिकटक प्रयोगकर्ता गत महिना २५ प्रतिशतले बढेका हुन् ।

 

 
 
  
 

You may also like