काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।
गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।
गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्र आयात भएको थियो । आयातसँगै निर्यात पनि वढेको छ । गत वर्ष २० अर्बको निर्यात भएकोमा यस वर्ष ४४ अर्बको निर्यात भएको छ । यो १ सय १५ प्रतिशतले बढी हो ।
गत वर्षको तुलनामा भने कुल वैदेशिक व्यापारमा ८० प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा सबैभन्दा बढी ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजारको इन्धन आयात भएको छ । आइरन र स्टिल २८ अर्ब ५५ करोड ९४ लाख ८७ हजारको आयात भएको छ ।
२६ अर्बको खाने तेललगायतको आयात भएको छ । तरकारी मात्रै ८ अर्ब ३६ करोड ४० लाख रुपैयाँको आयात दुुई महिनामा भएको छ । दुई महिनामा ३८ करोड २२ लाख रुपैयाँको सुर्ती र चुरोट आयात भएको तथ्यांक भन्सार विभागको छ ।
प्लास्टिकजन्य वस्तुमा ११ अर्ब ४० करोड ४८ लाख ७१ हजार रुपैयाँ आयात भएको छ भने १६ करोड १४ लाख ३९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यसमा मात्रै नेपालले ११ अर्ब २४ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।
बहुमूल्य धातुका गरगहना १७ अर्ब २७ करोड ४६ लाख ९९ हजार रुपैयाँको आयात हुँदा सवारी साधनका पार्टपुर्जा २१ अर्ब ८४ करोड ४३ लाख ७४ हजार रुपैयाँको आयात भएको छ । मेसिनरी तथा यान्त्रिक उपकरण २२ अर्ब ६८ करोड ७ लाख १ हजार, विद्युतीय मेसिनरी, साउन्ड रेकर्डरलगायतका सामग्रीहरू २४ अर्ब ५१ करोड २ लाख २१ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । राजधानी दैनिकबाट