देशभर मौसम बदली, सातै प्रदेशमा वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘काठमाडौंमा विहानदेखि वर्षा भइरहेको छ । दिउँसो केही समय मौसम खुले पनि साँझपख काठमाडौंमा फेरि पानी पर्नेछ’, मौसमविद् श्रेष्ठले भने, ‘पानी परे पनि भारी वर्षाको सम्भावना भने छैन, मध्यम वर्षा हुनेछ ।’

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

मौसममा रहेको बदली कम्तीमा अझै दुई दिन रहने छ । ‘हिजो साँझबाट भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव नेपालमा पनि रहेको छ’, मौसमविद् श्रेष्ठले भने, ‘त्यसैले यसको प्रभाव कम्तीमा दुई दिन पर्ने देखिन्छ । यसको असर कम्तीमा दुई दिन मौसममा बदली र वर्षा हुन्छ ।’

 
 
  
 

You may also like