७.३ प्रतिशतमा झर्‍यो संक्रमण दर

by समतल अनलाइन

काठमाडौं । आइतबार नेपालमा कोरोना संक्रमणदर ७.३ प्रतिशतमा झरेको छ । एन्टिजेन र पिसिआर विधिबाट परीक्षण भएका १० हजार १३ वटा नमुनामध्येमा ७ सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो । तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो । कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन् ।

थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ । तीमध्ये २४ हजार ३ सय १३ सक्रिय संक्रमित छन् । २२ हजार ८ सय ६४ जना होम आइसोलेसन र १४ सय ४९ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन् । गम्भीर समस्या भएका ३ सय ९० जनाको आइसियुमा उपचार भइरहेको छ ।

आइतबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । तीसहित नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । सोही अवधिमा काठमाडौं उपत्यकामा २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like