काठमाडौं। सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् ।
कांग्रेसमा १३ औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ । अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।
त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौला समेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए ।
त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् । तर १३औं महाधिवेशन भएको पाँच वर्ष पूरा भएर १४औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको सँघारमा पुगिसकेको छ । केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन् ।
१४औं महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा नै सभापतिका आकांक्षी छन् । यस्तै, सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन् । उनले हालको संस्थापनबाट देउवाविरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन् । ‘म सभापतिका लागि पूर्णरूपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरूसँग पनि भेटघाट र संवाद भइरहेको छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले भने ।
यस्तै, संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी हुन् । तर, उनले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । निधि र श्रेष्ठ दुवै मैदानमा उत्रने हो भने देउवालाई चुनौती थपिन्छ । यसैगरी, संस्थापनइतर मानिएको पौडेल समूहबाट वरिष्ठ नेता आफैं सभापतिको मुख्य दाबेदार हुन् । उनी आफ्नो समूहमा सहमति गराएर सर्वसम्मत उम्मेदवार हुने दाउमा अघि बढ्दै आइरहेका छन् ।
सोही समूहबाट हालका महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा। शेखर कोइरालासमेत सभापतिका आकांक्षी हुन् । यो समूहलाई मिलाउन नेत्री सुजाता कोइराला निकै सक्रिय रहँदै आइरहेकी छन् ।
यस्तै नेता अर्जुननरसिंह केसी समेत यस पटक यो गुटभित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सक्रिय भएर लागिरहेका छन् । यो समूहबाट कोइराला परिवारबाटै सभापतिमा दाबी हुने सम्भावना समेत छ । यसैगरी, कांग्रेसभित्रको अर्को गुट सिटौला समूह हो । सिटौला आफैं पनि आगामी महाधिवेशनका लागि टिम नै घोषणा गर्ने तयारीमा छन् ।
उनले यसअघि सीमित व्यक्तिलाई राखेर टिम बनाएको भए पनि यसपटक टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन् । यसैगरी, कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले समेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । राजधानी दैनिकबाट