लुमिनसद्वारा असहायलाई खाना र निःशुल्क मधुमेह परीक्षण

by समतल अनलाइन

झबिन्द्र देवकोटा
बुटवल । लायन्स क्लव अफ बुटवल लुमिनसले मानव सेवा आश्रम बुटवलमा रहेका असहायलाई एक दिनको खाना खुवाएको छ । मानव सेवा आश्रमका दुई ब्लकमा आश्रित पुरुष (बुवाहरु) र महिला (आमाहरु) तथा बालबालिका गरी १४६ जनालाई एक दिनको खाना खुवाइएको क्लवका अध्यक्ष सविता भण्डारीले जानकारी दिनुभयो । चाडपर्व नजिकिदै गएकाले असहायलाई पनि सहयोग र हौसला थपियोस् भनेर खाना खुवाइएको भण्डारीले बताउनुभयो । असहायलाई भोजन प्रदान कार्यक्रममा आश्रमका अभिभावक शेरबहादुर गौतम, जिल्ला संयोजक टिका थापा, लायन्स क्लव अफ बुटवल लुमिनसका सल्लाहकार डाक्टर शान्ता शर्मा, पार्वति भण्डारी लगायतले आश्रममा आश्रित असहायको सहयोगमा सबै जुट्नु पर्ने बताउनुभयो । सो अवसरमा विभिन्न प्रकारका गीतसंगीतका माध्यमले आश्रममा आश्रित आमाबुवा तथा बालबालिकाहरुलाई मनोरञ्जनात्मक प्रदान गरिएको थियो । सोही अवसरमा लुमिनसका अध्यक्ष सविता भण्डारीले आश्रमको सहयोगका लागि ब्यक्तिगत रुपमा दश हजार रुपैया बरावरको सहयोग गर्नु भएको क्लवका सचिव चक्रमणी भट्टराईले जानकारी दिनुभयो । यसैबीच लुमिनसले माई लायन भिलेजका रुपमा अपनाएको रुपन्देही देवदह–९ को नागथान टोलमा निःशुल्क मधुमेहको परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । सो नागथान टोलमा शिक्षा, स्वास्थ्य तथा सचेतनाको विकास गर्ने उदेश्यले अपनाएको नागथान गाउँमा आयोजना गरिएको मधुमेह परीक्षण कार्यक्रममा स्थानीय ३ सय जनाको मधुमेहको परीक्षण गरिएको क्लवका कार्यक्रम संयोजक सागर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेज भलुहीका डाक्टर नमर्ता पाद्यको टोलीले स्थानीयको स्वास्थ्य परिक्षण गरेको थियो । सोही अवसरमा स्वास्थ्य सचेतनाबारे स्थानीयसँग छलफल गरिएको लुमिनस अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । लुमिनसले गएको अगस्ट महिनामा नागथान गाउलाई त्यहाको शिक्षा, स्वास्थ्य र सचेतना बिकास गर्ने उदेश्यले “माई लायन भिलेज नागथान” भनेर अपनाएको थियो ।

 
 
  
 

You may also like