लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्रीसहित ४ जना विरुद्ध अपहरण र शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

by समतल अनलाइन

बुटवल। लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित नेकपा एमालेका ४ जना नेताविरुद्ध सांसद विमला कुमारी वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन्। गत साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग जायरी दिएको बताएकी छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देही डिएसपि तथा प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए। ‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ’उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका छन्। कुँवरले घटनाको सुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिविद्धतासहितको पत्र दिएका छन्।

हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने,‘उहाँले घटनाको सुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौ भन्ने प्रतिविद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’

दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी नआएको बताए। वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ।

 
 
  
 

You may also like