अन्तरनिर्भर अर्थतन्त्र बनाउनुपर्नेमा जोड , उद्योग व्यापार संघद्वारा नगर प्रमुखसंग जग्गा माग

by समतल अनलाइन

बुटवल । उद्योग ब्यापार संघ बुटवलले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसंग संघको सचिवालय भवनका लागि जग्गा उपलब्ध गराउन माग गरेको छ । संघको सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा संघका अध्यक्ष गोबिन्द गैरेले नगर प्रमुख सुवेदीलाई ज्ञापनपत्र बुझाउंदै बुटवलका अन्य तीन व्यवसायिक संस्थालाई जस्तै आफ्नो संघलाई पनि जग्गा उपलब्ध गराउन माग गरेको हो ।

अध्यक्ष गैरेले स्थानीय सरकारलाई सहयोग गर्दै सहकार्य गरेर अघि बढ्न संघ सदैव तयार रहेको भन्दै संघलाई लिजमा भएपनि जग्गा उपलब्ध गराइदिन माग गरे ।

नगर प्रमुख सुवेदीले संघसंस्थालाई जग्गा उपलब्ध गराउन विगतमा जस्तो सजिलो नभएपनि आफूले सक्दो पहल गर्ने बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी ब्यापार घाटा कम गराउनेतर्फ ध्यान दिन र अन्तरनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिए ।
संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले औद्योगिकरण र ब्यापार विविधकरणमार्फत स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने संघको प्रमुख उद्देश्य भएको बताउंदै त्यसका लागि संघको सचिवालयलाई जग्गा उपलब्ध गराउन माग गरे ।

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विष्णुप्रसाद पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,सचिव यमलाल मरासिनी, कोषाध्यक्ष अन्जु पाण्डे, सहकोषाध्यक्ष नम्रता थापा लगायतले आफ्ना भनाई राखेका थिए । संघले सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने योजना अघि सारेको छ ।

 
 
  
 

You may also like