सभामुखलाई विष्णु पौडेलको चेतावनी : ‘पदीय मर्यादा’ मा बस्नू

by समतल अनलाइन

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु पौडेलले सभामुख अग्नि सापकोटालाई ‘पदीय मर्यादामा बस्न’ चेतावनी दिएका छन् ।

आज (बुधबार) रूपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश व्यक्त गरे । आफ्नो दलले कारबाही गरेर निष्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरूलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको उनको आरोप छ ।

उनले ‘दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरूलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको ?’ भनी सभामुख सापकोटालाई प्रश्न समेत गरे ।

‘पदको दुरुपयोग गरेर नेकपा (एमाले) लाई विभाजनमा ल्याउने काम पदको दुरुपयोग गरेर जुन खालको क्रियाकलाप भएका छन् । सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द हुनुपर्छ । यो कुनै पनि मानेमा मान्य हुन सक्दैन’, उनले भने । पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दाबी समेत गरे ।

 
 
  
 

You may also like