कांग्रेसकी कान्छी अध्यक्ष भन्छिन्, ‘बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ’

by समतल अनलाइन

दैलेख । दैलेखकी एक युवती अहिले कांग्रेसको वडा अधिवेशन जारी रहेको समयमा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । हिजो मात्रै दैलेखमा वडा अधिवेशन सम्पन्न भएको छ ।

सो वडा सम्मेलनमा अधिकांश नयाँ अनुहारका नेता कार्यकर्ता आएका छन् । उमेरले १९ वर्ष मात्रै पुगेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका–३ ३ मा सभापति चयन भएकी छिन् । उनी स्वास्थ्य सहायक (एचए) अध्ययनरत छात्रा पनि हुन् ।

उनका पिता भुपेन्द्रजंग महत कांग्रेस दैलेखमा अघिल्लो कार्यकालमा उपसभापति भएका थिए । त्यसअघि उनी नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सभापति भइसकेका थिए । उनी एक कार्यकाल पार्टीको कोषाध्यक्ष समेत बनिसकेका थिए ।

उनको डेढ वर्ष पहिले मात्रै भारतको मुम्बईमा उपचारको क्रममा मृत्यु भइसकेको छ । स्वस्तिकाका पिता नेविसंघ र तरुण दलमा हुँदा शेरबहादुर देउवा निकट थिए भने पछिल्लो समयमा उनी रामचन्द्र पौडेल निकटमा थिए ।

भुपेन्द्रजंग महत अल्पायुमै बिते । उपचारका क्रममा २०७६ कात्तिकमा भारतको दिल्लीस्थित एपोलो अस्पताल उपचारका क्रममा उनको निधन भएको थियो । बुवाको अप्रत्याशित निधनका बेला भर्खर राजनीति बुझ्दै गरेकी जेठी छोरी स्वस्तिका स्तब्ध भइन् । जसको संगतले राजनीति सिक्दै थिइन्, ऊ नै नभएपछि स्वस्तिका बाटो पनि फेरिन पुग्यो ।

परिवारमा ठूलो वज्रपातपछि हेल्थ असिस्टेन्ट पढ्दै गरेकी स्वस्तिकाले आफू र आफ्नो परिवारलाई सम्हाल्नुपर्ने स्थिति थियो । पीडा लुकाएर पनि उनले त्यही भूमिका निर्वाह गरिन् । कोरोना महामारीका कारण लकडाउन भएपछि स्वस्तिका घर फिरेकी थिइन् । उनले आफूलाई कमजोर देखाउने स्थिति थिएन ।

बुवा भुपेन्द्र ६ कक्षादेखि नै रेडक्रसमा आवद्ध हुँदै राजनीतितिर होमिएका थिए । उनी नेविसंघ र तरुण दलको राजनीतिपछि कांग्रेसको १३ औं महाधिवेशनबाट दैलेख जिल्ला उपसभापति चुनिएका थिए । राजनीतिमा बुवाको खटाई र मिहिनेत स्वस्तिकाले नजिकबाट नियालेकी थिइन् । घरको माहौल पनि राजनीतिक थियो । धेरै किसिमका मानिसहरु आएर राजनीतिक कुरा गर्थे । राजनीतिसँगै गाउँ विकासका पनि कुरा हुन्थे । ती सबै कुराहरु स्वस्तिकाले पनि चाख दिएर सुन्थिन् ।

कोरोना महामारीका कारण उनले घरमै बस्नुपरेको थियो । धेरै मानिसहरु आएर सहानुभूति दिन्थे । कसैले बुवाले यस्तो यस्तो सोच बनाउनुभएको थियो। पूरा नहुँदै बित्नुभयो भन्थे । कसैले गाउँमा भूपेन्द्रको निधनसँगै नेतृत्व अभाव भएको बताउँथे। सबैका कुरा सुनेपछि स्वस्तिकाले मनमनै ठानिन्, गाउँको नेतृत्व अभाव पूर्ति गर्न र बुवाका अधुरा सपना पूरा गर्न राजनीतिमा होमिन्छु ।

अहिले १९ वर्ष पुगेकी स्वस्तिकालाई एक वर्ष अगाडि मात्रै यो सोच आएको हो । ठीक त्यहीबेला कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको थियो। स्वस्तिकाले राजनीतिमा आउने यही महाधिवेशन उपयुक्त हुने ठानिन् र परिवारसँगै कांग्रेसजनमा आफ्नो इच्छा व्यक्त गरिन् ।
‘पहिले त स्वीकार गर्ने कुरै भएन । बच्चै छस्, पढाई छ, पढाई किन छोड्नुपर्‍यो । जागिर खानुपर्छ तैंले भन्नुहुन्थ्यो,’ शुक्रबार मात्रै दुल्लु नगरपालिका–३ मा सभापतिमा निर्विरोध निर्वाचित भएकी स्वस्तिकाले भनिन्, ‘मैले सक्छु भनेर हिम्मत देखाएँ । १८ वर्ष पुगेपछि कानुनले नै सक्छस्, सक्षम छस् भनेर नागरिकता दिन्छ । म १९ वर्ष पुगिसकेकी छु भनेर कन्भिन्स गराएपछि सबै जना खुशी हुनुभयो । मलाई अगाडि बढ्न हौसाउँदै साथ दिने प्रतिवद्धता जनाउनु भयो ।’

 
 
  
 

You may also like