दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–१ बास्पालीका पहिरोमा परेर एक दम्पतीसहित तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) मा बस्दै आएका ६५ वर्षीय नरसिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता भएको स्थानीय रामसिंह महरले जानकारी दिएका छन् ।
राति सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले घरसहित उनीहरुलाई पुरेको हो । अहिले ती दम्पतीको अवस्था अज्ञात रहेको उनले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धार गरिरहेको बताइएको छ ।
यसैबीच दुहुँकै वडा नम्बर– ५ सुत्खोला (दुल्ला) का ५० वर्षीय मनुवा डडालको अवस्था समेत अज्ञात रहेको छ । राति घरमाथि खसेको पहिरोमा परेका डडाल बेपत्ता रहेको जनाइएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच लगातारको वर्षाले निजाङ्ग खोलामा गए राति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् ।
खोलाले स्थानीय दिपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले जानकारी दिए । खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान तटीय क्षेत्रका नागरिकलाई एक सूचना जारी गरी आग्रह समेत गरेको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्थाबारे बुझ्न अहिले त्यहाँ प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।